Blog

  • अध्यादेश जारी भएपछि मन्त्री रावलले भनिन् : सुकुम्वासी समस्या समाधानका कानुनी अड्चन हटे

    अध्यादेश जारी भएपछि मन्त्री रावलले भनिन् : सुकुम्वासी समस्या समाधानका कानुनी अड्चन हटे

    काठमाडाैँ –  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका कानुनी अड्चन हटेको बताएकी छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी कानुन संशोधन गर्ने दुई अध्यादेश मंगलबार जारी गरेसँगै सुकुम्वासी समस्या समाधानका लागि कानुनी बाटो खुलेको मन्त्री रावलले बताएकी हुन्।

    ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीको समस्या समाधानका कानुनी अड्चनहरू अब हटेका छन्। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएसँगै समाधानको बाटो खुलेको छ,’ उनले भनेकी छन्।

    मन्त्री रावलका अनुसार वन, मध्यवर्ती क्षेत्र तथा आरक्ष क्षेत्रसम्बन्धी कानुनी प्रावधानका कारण समाधान हुन नसकेका भूमिहीनका समस्यालाई सम्बोधन गर्न पनि छुट्टै अध्यादेशमार्फत आवश्यक व्यवस्था गरिएको छ।

     

  • ओमानविरुद्ध नेपाल ११३ रनले विजयी, लिग-२ मा लगातार दोस्रो सफलता

    ओमानविरुद्ध नेपाल ११३ रनले विजयी, लिग-२ मा लगातार दोस्रो सफलता

    काठमाडाैँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

    नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटिएपछि नेपालले शानदार जित निकालेको हो।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। जवाफमा ओमानले नेपाली बलरहरूको कसिलो बलिङ सामना गर्न नसक्दा १५० रनमै सबै विकेट गुमायो।

    ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। जय ओडेड्राले २५ रन जोडे पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

    नेपालको जितमा नन्दन यादव र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे।

    रोहितको अर्धशतक, करणको विस्फोटक ब्याटिङ
    त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

    ओपनर अर्जुन कुमालले ४० रन बनाए भने ईशान पाण्डे र बसिर अहमदले समान ३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन जोडे। सन्दीप जोराले १० रन बनाए।

    अन्तिम क्रममा आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले मात्र १६ बलमा ४ छक्का र १ चौकाको मद्दतमा अविजित ४० रन बनाए। नन्दन यादव ७ रनमा अविजित रहे।

    नेपालले अन्तिम पाँच ओभरमा ५२ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

    ओमानका बलरमध्ये शाह फैसल, शकील अहमद र करण सोनावालेले समान २–२ विकेट लिए भने हसनैन शाहले १ विकेट हात पारे।

    लिग–२ मा नेपालको लगातार दोस्रो जित
    नेपालले यसअघि क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानले पनि आफ्नो अघिल्लो खेलमा क्यानडालाई ४१ रनले हराएको थियो। लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका दुई टोलीबीच नेपालले बाजी मारेको हो।

    विश्वकप लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा रहँदा ओमान चौथो स्थानमा छ। प्रतियोगिताको शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेछन्। पुछारका दुई टोलीले भने मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

    ओमानमाथिको फराकिलो जितले नेपाललाई लिग–२ मा महत्वपूर्ण अंक दिलाएको छ। एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि आगामी खेलहरूमा पनि जितको लय कायम राख्नु महत्त्वपूर्ण हुनेछ।

  • गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता

    गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता

    काठमाडाैँ– भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता भएको छ ।

    बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत गएका मन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहबिच भेटवार्ता भएको हो ।

    भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा २ देशबिचका गृह मामिलासँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ ।

    गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो ।

    बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । सम्मेलनले सदस्य राष्ट्रबिच सुरक्षा तथा आन्तरिक मामिलामा सहकार्य विस्तारका विषयमा छलफल हुने गर्छ ।

  • उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’, ९८ जना पक्राउ

    उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’, ९८ जना पक्राउ

    काठमाडाैँ– काठमाण्डु उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको उक्त अभियानमा ९८ जना पक्राउ परेका हुन् ।

    पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाण्डुका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

    सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका सवारीसाधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

    जिल्ला प्रहरी परिसरका अनुसार विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका नौ जना कसुरदार र चालु मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत पक्राउ परेका छन् ।

    पक्राउ परेका व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।

  • राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी

    काठमाडाैँ – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने २ वटा अध्यादेश जारी गरेका छन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार २ अध्यादेश जारी गरेका हुन् ।

    जारी भएका अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन् ।

  • जेन-जी आन्दोलनमा नख्खुबाट फरार बलात्कार मुद्दाका कैदी १३ महिनापछि पक्राउ

    जेन-जी आन्दोलनमा नख्खुबाट फरार बलात्कार मुद्दाका कैदी १३ महिनापछि पक्राउ

    काठमाडाैँ- गत वर्ष भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

    उदयपुरको कटारी नगरपालिका-७ घर भएका २७ वर्षीय सुवारु थारु दनुवारलाई प्रहरीले मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका-४ बाट पक्राउ गरेको हो।

    ललितपुर प्रहरी परिसरका अनुसार गत वर्ष भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा उनी नख्खु कारागारबाट भागेर फरार भएका थिए।

    त्यसअघि नै जबरजस्ती करणी मुद्दामा उनलाई १८ वर्ष कैद सजाय तोकिएको थियो। पक्राउ पर्दा उनले अझै १२ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रहरी प्रभाग इमाडोलबाट खटिएको टोलीले उनलाई पक्राउ गरी बाँकी कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले जनाएको छ।

    जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गर्ने अभियानअन्तर्गत उनलाई नियन्त्रणमा लिइएको हो।

  • महिलालाई खगेन्द्र सुनारको अश्लील गाली र धम्की

    महिलालाई खगेन्द्र सुनारको अश्लील गाली र धम्की

    काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक महिला पूर्वसांसदलाई लक्षित गरी अश्लील टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन्।

    घटनालाई लिएर आफ्नै पार्टीका सांसददेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्मले आलोचना गरेका छन्।

    सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारको भएको दाबीसहित सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको बताइएको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।

    अडियोमा सुनिने भाषा अत्यन्तै आपत्तिजनक र महिलाप्रति अपमानजनक रहेको भन्दै सुनारमाथि प्रश्न उठाइएको छ। घटनापछि उनीमाथि कारबाही गर्नुपर्ने र सांसद पदबाट राजीनामा दिनुपर्ने आवाजसमेत उठ्न थालेको छ।

    विवाद चर्किएपछि सांसद सुनारको प्रतिक्रिया लिन खोज्दा उनको फोन स्विच अफ रहेको बताइएको छ। उनले सार्वजनिक रूपमा आफ्नो धारणा राखेका छैनन्।

    रास्वपाभित्रै असन्तुष्टि 

    सुनारको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाकै सांसदहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

    रास्वपा सांसद ज्वाला संग्रौलाले फेसबुकमा लेखेकी छन्, ‘अश्लील .. सुन्नै नसकिने।’ त्यस्तै, रास्वपा सांसद राजीव खत्रीले लेखेका छन्, ‘सुन्न नसकिने कुरा। यति भनौं, जस्तो कथनी, उस्तो भरनी।’

    आफ्नै दलका सांसदहरूबाट आएको प्रतिक्रियाले पनि सुनारको भनिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र असहजता देखिएको छ।

  • बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ जनाले काठमाण्डु छाडे

    बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ जनाले काठमाण्डु छाडे

    काठमाडाैँ– बडादसैँ नजिकिएसँगै काठमाण्डु उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।

    दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् ।

    काठमाण्डु उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

    काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्ममा (२४ घण्टा) ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् ।

    उनका अनुसार फर्पिङ नाकाबाट ५ हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरीएका छन् ।

    दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए ।

    “दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाण्डु आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,” उनले भने । असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताए ।

    महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

    दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

    नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

    काठमाडाैँ – नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ ।

    देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिए ।

    मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो ।

    चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

    चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवम् ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए।

    चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने बताइन्छ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवत्लगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।

    दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यी नै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।

  • विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

    विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

    काठमाडाैँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

    अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

    नेपालले शृङ्खलाको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो। उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरेका थिए।

    यता, ओमानले पनि शुक्रबार क्यानडालाई हराएको थियो। ओमानको जितसँगै लिग–२ को शीर्ष चारमा पुगेर सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना समाप्त भएको छ। त्यसैले अब नेपालका लागि बाँकी खेल ओडीआई हैसियत जोगाउने दृष्टिले महत्वपूर्ण बनेका छन्।

    लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा झरेको छ। ओमान भने २९ खेलबाट ३३ अंकसहित तालिकाको माथिल्लो स्थानमा छ।

    शीर्ष चारमा पर्न नसकेपछि नेपालले एकदिवसीय विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई रहनेछन्।

    अब लिग–२ मा नेपालले पाँचौं वा छैटौं स्थानमध्ये एकमा रहेर प्रतियोगिता टुंग्याउने सम्भावना छ। ओडीआई मान्यता जोगाउने विषयमा आईसीसीको स्पष्ट प्रावधान सार्वजनिक भइसकेको छैन ।